विप्लव समूहले जनसेना र जनसरकार चलाएको छः गृहमन्त्री थापा

सरकारले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसेना बनाएको दावी गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले उक्त पार्टीले जनसरकार र जनसेना गठन गरेको दावी गर्नुभयो ।

संसद बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, ‘नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको छ । साथै उसको निशानामा अहिले राजधानी काठमाण्डौ उपत्यका परेको छ ।’

आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिने क्रममा गृहमन्त्री थापाले जनसरकारको रुपमा जनपरिषद् र जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेको जिकीर गर्नुभयो ।

आइतबार भएको बम विस्फोटका घटनामा चार जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएका थिए । गृहमन्त्री थापाले घटनामा मृत्यु भएका सबै विप्लव समूह कार्यकर्ता रहेको जिकीर गर्नुभयो । साथै उहाँले विप्लव समूहले शान्ति र स्थायित्वलाई प्रभाव पार्ने गतिविधि गरिरहेको भन्दै हिंसात्मक गतिविधि नियन्त्रण गर्ने बताउनुभयो ।

उहाँले सो पार्टीसँग वार्ता भइरहेको बताउनुभयो । वार्ता र संवाद मार्फत् विप्लव समूहलाई मुल धारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध रहेको गृहमन्त्री थापाको भनाई थियो ।

Facebook Comments