थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

थमन–महेश स्मृति पत्रकारिता पुरस्कार–२०७५ बाट पत्रकार त्रिभूवन पौडेल पुरस्कृत हुनुभएको छ । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक स्वर्गिय थमन परियार र अर्का पत्रकार महेश पहारीको स्मृतिमा स्थापित पुरस्कारबाट पौडेल सम्मानित हुनुभएको हो ।

उक्त पुरस्कार तत्कालिन क्रान्तिकारी पत्रकार संघद्वारा स्थापित तथा प्रेस संगठन कास्कीद्वारा सञ्चालनमा रहेको छ । पौडेललाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, सांसदहरु रामजी बराल जीवन, प्रभा कोइराला, प्रेस संगठनका नेता सन्देश श्रेष्ठलगायतले पुरस्कार अर्पण गर्दै दोषल्ला लगाएर सम्मान गरेका हुन् । पुरस्कारको राशी नगद २५ हजारसहित दोषल्ला र सम्मानपत्र रहेको छ ।

पुरस्कृत पौडेल दुई दशकदेखि पत्रकारितामा कृयाशिल छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पौडेल, तत्कालिन क्रान्तिकारी पत्रकार संघ कास्कीका अध्यक्ष, प्रेस सेन्टर गण्डकी प्रदेशका समेत अध्यक्ष रहनुभएको थियो ।

वि.सं २०५७ सालमा स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका पौडेल वि.सं २०५९ सालदेखी पोखरा हटलाईन दैनिकको संवाददाता हुँदै हाल सम्पादक पदमा कार्यरत रहनुभएको छ ।

पुरस्कृत व्यक्तित्व पौडेलले पुरस्कारले आफूलाई थप हौषला प्रदान गरेको बताउनुभयो । पौडेलले विगतमा जोखिम मोलेर युद्ध पत्रकारितासमेत गरेको स्मरण गर्दै अनेकौं आरोह अवरोह छिचोल्दै अगाडि बढ्दा सम्मानसमेत दिलाएको भन्दै मेहनत गरे फल प्राप्त हुन्छ भन्ने पुष्टी भएको उल्लेख गनुृभयो ।

यसअघी उक्त पुरस्कारबाट अग्रज पत्रकार कोमलनाथ बराल, महेश्वर दाहाल, रुद्र भट्ट र गोमा घिमिरे पुरस्कृत भईसकेका छन् ।

Facebook Comments