लोक सेवा आयोगले ९ हजार कर्मचारीका लागि विज्ञापन खोल्ने

स्थानीय तहमा रिक्त रहेका दरबन्दी पदपुर्तिका लागि विज्ञापन खुल्ने भएको छ । लोक सेवा आयोगले ९ हजार कर्मचारी पदपुर्तिका लागि विज्ञापन खुलाउन लागेको हो ।

स्थानीय तहमा रिक्त रहेका दरबन्दी पुर्ति गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको सिफारिसअनुसार आयोगले विज्ञापन खोल्न लागेको हो ।

आयोगले पहिलो पटक ठूलो संख्यामा कर्मचारी पदपुर्तिका विज्ञापन खोल्न लागेको हो । प्रदेश तथा स्थानीय तहमा कर्मचारी अभाव भएकाले सेवा प्रवाह चुस्त बनाउन नसकिएको प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिको गुनासो रहेको छ ।
सरकारले स्थानीय तहका लागि ६६ हजार ९०८ दरबन्दी स्वीकृत गरेको छ । गत चैतमा सरकारले गरेको कर्मचारी समायोजनका क्रममा ४३ हजार स्थानीय तहमा समायोजन भएपनि अझै २३ हजार कर्मचारीको दरबन्दी रिक्त छ ।

५ सय ५५ स्थानीय तहले पठाएको विवरण अनुसार १४ हजार दरबन्दी पदपुर्ति गर्नु पर्ने देखिएको छ । आयोगले जेठ १५ गते बुधबार प्रशासन र प्राविधिक पदका लागि चौथो, पाँचौं, छैटौं र नवौं तहमा विज्ञापन गर्न लागेको आयोगले जनाएको छ । आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोही कार्यतालिका अनुसार बुधबार विज्ञापन खोल्न लागिएको हो ।

Facebook Comments