भारतीय प्रधानमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीवीच फोनवार्ता

भारतीय प्रधानमन्त्री र पाकिस्तानका प्रधानमन्त्रीवीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

लामो समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो । गत फेब्रुअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमणपछि दुई मुलुकका नेताहरुवीच संवाद हुन सकेको थिएन ।

फोनमा पाकिस्तानी प्रधानमन्त्री खानले हालै सम्पन्न लोकसभा निर्वाचनमा समकक्षी भारतीय नेता मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि मोदीलाई वधाई दिनुभएको दुवै मुलुकले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीमा भनिएको छ, ‘दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गर्नुभएको थियो ।’

त्यस्तै ‘भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतङ्कवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

यसअघि पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् वधाई ज्ञापन गरेको घटना नै सम्भवत दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो ।

Facebook Comments