गण्डकी प्रदेशमा १ सय ७५ उद्योग खोल्ने उद्योगमन्त्री लम्सालको घोषणा

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले आउने वर्षभित्र हिमालमा २५, पहाडमा ५० र तराईमा १ सय उद्योग खोल्ने बताउनुभएको छ । चालु आर्थिक वर्षमा नै उद्योग खोल्ने घोषणा गरे पनि कार्यविधि बनाउँदै र सम्भाव्यता अध्ययनमै समय वितेकाले अव आगामि बर्षमा स्थानीय कच्चा पदार्थ उपयोग हुने खालका उद्योग खोल्ने लम्सालको भनाई छ ।

मन्त्री लम्साल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशमा निर्यात सम्भावना, आयात प्रतिष्थापन तथा अन्तरप्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी सम्बन्धी गोष्ठीमा यस्तो बताउनुभएको हो ।

उहाँले प्रदेश सरकारले सबै स्थानीय निकायमा उद्योगग्राम खोल्ने नीति ल्याए पनि मन्त्रालयबीच समन्वय नहुँदा त्यो योजना अलपत्र परेको पनि स्वीकार गर्नुभयो । प्रदेश सरकारले राम्रो उद्योग नीति बनाएको मन्त्री लम्सालको दावी छ । उहाँले दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति ल्याउनु पर्नेमा जोड दिनुभयो । मन्त्री लम्सालले स्थानीय तहको सरकारले जनतालाई सेवा दिन नसकेको आरोप लगाउनुभयो ।

प्रदेश सरकारले ६० जना सभासदहरुलाई अल्लोको कोट दिने योजना बनाएको सुनाउँदै उहाँले भन्नुभयो, ‘६० वटा अल्लोको कोट बनाउने क्षमता नै हामीसँग रहेनछ, अब ४ वटा कोट झुड्याएर अल्लोको कोट बनाउँछु भनेर हुन्छ ?’ विदेशीले दिएको अनुदानमा उद्योग खोल्ने र आफू विदेशिएपछि त्या परियोजना त्यत्तिकै छाडिने गरेको मन्त्री लम्सालको जिकीर थियो ।

कार्यक्रममा बोल्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले चालु अािर्थक वर्ष २०७५÷०७६ मा व्यापार घाटा अझ बढ्ने बताउनुभयो । गत वर्ष देशको कुल निर्यात ८१ अर्ब र आयात १२ खर्ब ४५ करोड थियो’ उहाँले भन्नुभयो,‘ चालु आर्थिक वर्षको ९ महिनाको व्यापार अवस्था हेर्दा घाटा यो अझ बढ्ने देखिन्छ । ’ उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालले १ रुपैयाँ बराबरको निर्यात गर्दा १५ रुपैयाँ ३ पैसा बराबरको आयात गर्दथ्यो भने यो आर्थिक वर्ष सकिँदासम्म यो दर १ रुपैयाँ बराबर १६ रुपैयाँ पुग्नेछ ।

कार्यक्रममा गण्डकी प्रदेशको बस्तु तथा सेवा व्यापारसम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै निकासी प्रवद्र्धन केन्द्रका बरिष्ठ अधिकृत नवराज मरहट्टाले कुल ग्राहस्थ उत्पादनमा ७ दशमलव ६ प्रतिशत योगदानसहित सात प्रदेशमध्ये गण्डकी पाँचौँमा रहेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा रहेको भौगोलिक बिविधता,कोरला र सुस्ता नाका एवं उत्पादकत्व भएको भूमिको समुचित लाभ लिन सके यो प्रदेशले आर्थिक उन्नति गर्न सक्ने उहाँको भनाई थियो । गण्डकी प्रदेशमा ५७ हजार ४४ मेट्रिक टन चामल नै अपुग रहेको जानकारी दिँदै उहाँले यहाँको उत्पादकत्व, सेवा र अन्य उद्योगको उत्पादनको वास्तविक तथ्याङ्क नहुँदा माग र आपूर्तिबारे स्पष्ट हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले सिँहदरबारको अधिकार गाउँगाउँमा मात्रै होइन, गोठगोठमा पु¥याए मात्र आत्मनिर्भर अर्थतन्त्र बन्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले नेपालले आफ्ना उत्पादनहरुको पहिचान गर्न नसक्दा व्यापार घाटा चुलिएको बताउनुभयो ।

Facebook Comments