पोखरामा ४० हजार घुस सहित २ जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले पोखरामा २ जनालाई घुस रकमसहित पक्राउ गरेको छ । टोलीले सोमबार राती सेवाग्राहीसँग पोखरा १७ मा रहेको एक होटलमा घुस रकम लिइरहेका बेला दुई जनालाई ४० हजार घुससहित सोमबार राती पक्राउ गरेको हो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै घुस रकम लिएको बताइएको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकीबाट लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्लेलाई पक्राउ गरिएको हो । अनुसन्धानका लागि दुबै जनालाई मंगलबार अख्तियारको कार्यालय काठमाडौ लगिएको छ ।

अख्तियार टोलीका अनुसार निजद्वयले ४० हजार घुस लिएका थिए । यसका अतिरिक्त काफ्लेले विभिन्न सेवाग्राहीसँग लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै लिएको १ लाख ६ हजार रुपैँया र अन्य प्रमाणहरु बरामद गरेको पनि अख्तियारले जनाएको छ ।

Facebook Comments