उपराष्ट्रपति यूएनको विशेष समारोहमा सहभागी

अष्ट्रिया भ्रमणमा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनु भएको छ । स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी हुनुभयो ।

भियना अन्तर्राष्ट्रिय केन्द्र संयुक्त राष्ट्रसंघको तेस्रो ठूलो कार्यालय हो । सो केन्द्र स्थापना भएको ४० औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटे«सले संयुक्त राष्ट्र संघ आफ्नो लक्ष्यमा दृढ् भएर लागेको बताउनुभयो । उहाँले विश्वको शान्तिका लागि भईरहेका प्रयासलाई सार्थक बनाउँदै लैजाने र दिगो विकासका लक्ष्यहरु प्राप्तीका कार्यहरुलाई प्रभावकारी बनाउदै लैजाने बताउनुभयो ।

उपराष्ट्रपति पुन अष्ट्रियाका चान्सलरले सोमबार राति आयोजना गर्नुभएको रात्री भोजमा सहभागी हुनु भएको छ । उहाँको साथमा वनमन्त्री बस्नेत सहभागी हुनुभयो । उपराष्ट्रपति पुन आज (मंगलबार) आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्नु हुनेछ ।

Facebook Comments