व्यवसायी सुमार्गीको ८० करोड रूपैयाँबारे सरकारले नै निर्णय लिनुपर्ने : सर्वोच्च

सर्वोच्च अदालतले व्यवसायी अजेय सुमार्गीको नाममा विदेशबाट इन्भेष्टमेन्ट बैंकमा आएको ७५ लाख अमेरिकी डलर (झन्डै ८० करोड बढी) बारे ६ महिनाभित्र छानबिन गर्न सरकारलाइ आदेश गरेको छ । यसअघि सर्वोच्चकै आदेशले मुक्तिश्री सिमेन्टका सञ्चालक सुमार्गीको ७५ लाख अमेरिकी डलर रोक्का अवस्थामा थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले सुमार्गीले दिएको रिटमा मंगलबार परमादेश जारी नहुने फैसला गरेको हो ।

यसअघि सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश दीपकराज जोशीले पनि सुमार्गीका नाममा आएको रकम फुकाउन आदेश गरेको थियो । पछि प्रधानन्याधीश सहितको इजलासले उक्त आदेश बदर गर्दै सुमार्गीले झिकिसकेको रकम फिर्ता ल्याउन भनेको थियो ।

राणा सहित न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले यो सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दा हुन सक्ने भन्दै अन्तरिम आदेशकै भरमा सुमार्गीको पैसा फुकुवा गर्न नहुने ठहर गरेको थियो ।

मुक्तिश्री सिमेन्टका नाममा आएको ४ करोड ५० लाख अमेरिकी डलरमध्ये राष्ट्र बैंकले रोक्का गरेको ७५ लाख डलर बैंकमा रोक्का अवस्थामा छ। पैसा बैंकमा रोक्का भएपछि सुमार्गीका तर्फबाट रकम फुकुवाका लागि अन्तरिम आदेश गराई पाउँ भन्दै सर्वोच्चमा निवेदन परेको थियो ।

Facebook Comments