गणतन्त्र दिवस मनाईंदै

गणतन्त्र दिवस देशैभर विभिन्न कार्यक्रमका साथ मनाईंदैछ । केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय तहले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागिएको हो ।

२०६५ साल जेठ १५ मा तत्कालीन संविघानसभाले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक मुलुक घोषणा गरेको थियो । गणतन्त्र स्थापना भएको ११ बर्ष पुरा भएको अवसरमा सरकारले त्रिदिवसीय रुपमा यो दिवस मनाउने निर्णय अनुसार विभिन्न कार्यक्रमका साथ मनाउने क्रम जारी रहेको छ ।

यसैवीच गणतन्त्र दिवसका अवसरमा बुधबारदेखि लागू हुने गरी ४ सय ३४ जना कैदीलाई बाँकी कैद सजाय मिनाहा गरिएको छ । मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने निर्णय गरेको हो ।

कानुनअनुसार राष्ट्रिय उत्सवका दिन गणतन्त्र दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदी (गम्भीर प्रकृतिको अपराधमा सजाय भोगिरहेकाबाहेक) को बाँकी सजाय मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट माफी दिने प्रचलन रहेको छ ।

Facebook Comments