गणतन्त्र सामाजिक रुपान्तरण गर्ने प्रणालीः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र समाजिक व्यवस्था नै परिवर्तन गर्ने प्रणाली भएको बताउनुभएको छ । उहाँले यो सामान्य राजनीतिक प्रणाली मात्र नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ ।

गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानबिन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा दिने लक्ष रहेको बताउनुभएको छ ।
उहाँले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको उल्लेख गर्नुभएको छ । विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहेमा जनताको मलिन अनुहार बदल्न सकिने प्रधानमन्त्रीको विह्वास रहेको छ ।

प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गर्नुभएको छ । सरकारले गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार हटाउनेतर्फ क्रियाशील रहेको उहाँको भनाई छ । प्रधानमन्त्रीको सन्देशमा गरिबी र लोकतान्त्रिक गणतन्त्र एकसाथ रहन नसक्ने उल्लेख गरिएको छ ।

Facebook Comments