पृथ्वी राजमार्गको मुग्लिन सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तरगत मुग्लिनको सडकखण्ड बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूली नदी माथि निर्माण भईरहेको आर्कब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको र सडकको सतह केही बढी भएकाले कटिङ गरेर मर्मत गर्नुभएकाले सडक खण्ड बन्द गर्न लागिएको हो ।

कम्तीमा पनि १४ दिन बन्द गरिने पुल योजना मध्य क्षेत्र सेक्टर नम्बर दुई तनहुँले जानकारी दिएको छ । योजनाका अनुसार जेठ १६ गते देखि ३० गते सम्म विहान ११ बजे देखि दिउँसो ३ बजे सम्म र राती ९ बजे देखि २ बजे सम्म सो सडक खण्ड बन्द गरिने छ ।

ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभिले आर्क ब्रिज निर्माण गरेको हो । १६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलब पाँच मिटरमा गाडी गुड्ने गरि बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।

Facebook Comments