गणतन्त्र नेपाली जनताको चाहनाले आएको होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको वलिदानपूर्ण संघर्ष, र जनताकै आकांक्षाअनुरुप गणतन्त्र स्थापना भएको बताउनुभएको छ । काठमाण्डौंमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति आदरका साथ श्रद्धार्पण गर्नुभयो । नेपालको गणतन्त्र नेपालीको महान उपलब्धि हो, जनताको संघर्ष र वलिदानको प्रतिफलका रुपमा हाँसिल भएको प्रधानमन्त्तीको भनाई छ ।

जनताका सन्तान मुलुकको सर्वोच्च प्रतिनिधि, राष्ट्राध्यक्ष बन्न पाउने उच्चत्तम लोकतानित्रक प्रणालीका रुपमा गणतन्त्र रहेको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्रीले इतिहासमा राजा भनेर चिनिने प्राचीन कालका अगुवाहरु खासमा गणनायकहरु रहेको उल्लेख गर्नुभयो ।

गणतन्त्र दिवस जनताको दिवस भन्दै प्रधानमन्त्रीले हिंसात्मक रुपमा विगतमा राज्यसत्ता टिकाउने गरिएको उल्लेख गर्नुभयो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित रहेको प्रधानमन्त्रीको भनाई छ ।

उहाँले गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वा्चित गरेको, आमजनताले निर्वा्चित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन प्रेरणा बढाउने आशा व्यक्त गर्नुभएको छ । गणतन्त्रको मर्यादा, गणतान्त्रिक संस्थाहरुको मर्यादा, गणतान्त्रिक प्रकृयाको र सम्मान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

रोजगारीके अवसर सिर्जना, उत्पादन वृद्धि, सवैलाई खाद्य व्यवस्था, सवैलाई आवास र कपडा, सवैलाई शिक्षा र सवैलाई स्वास्थ्य एवं सुरक्षाको व्यवस्था गर्नेतर्फ सरकार अग्रसर रहेको उहाँको भनाई रहेको छ । उहाँले जनताको अनुहार मलिन हुन नदिने प्रतिबद्धता समेत गणतन्त्र दिवसका अवसरमा व्यक्त गर्नुभएको छ ।

Facebook Comments