चितवनमा कृषि प्रदर्शनी तथा कृषक मेला हुने

चितवनमा कृषि प्रदर्शनी तथा कृषक मेला हुने भएको छ । विश्वविद्यालय स्थापनाको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको गर्न लागिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको रामपुरमा रहेको कृषि सङ्कायको परिसरमा हुने मेलामा कृषिसँग सम्बन्धित ५० वटा कक्ष रहनेछन् । सचिवालयका संयोजक प्राडा अर्जुन श्रेष्ठका अनुसार मेलामा कृषि यान्त्रिकीकरण र कृषि पदार्थ, बीउ बिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बीमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्था, नर्सरी र व्यावसायिक तरकारी बिक्रेताको सहभागिता रहने छ ।

कृषि मेला हरेक वर्ष आयोजना गर्ने विश्वविद्यालयले जनाएको छ । मेलाका अवसरमा चितवन र आसपासका क्षेत्रमा व्यावसायिक तरकारी र फलफूल खेतीमा देखापरेका समस्याबारे अन्तरक्रिया गरिनेछ । सो अवसरमा कृषि वैज्ञानिकहरुसँग कृषकले प्रत्यक्ष रुपमा आफ्ना समस्या राख्न सक्ने बताइएको छ ।

मेलाको सहआयोजकमा भरतपुर महानगरपालिका, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेका छन् भने प्रवद्र्धकमा उद्योग वाणिज्य सङ्घ चितवन रहेको छ ।

Facebook Comments