भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दिल्ली प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जानुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १ः३५ बजेको उडानबाट दिल्ली जानुभएको हो । सोही दिन साँझ ७ बजे मोदीको सपथग्रहण समारोह छ । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि बोलाइएको छ । यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो ।

मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र मालदिभ्सका सरकार प्रमुखलाई निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोदीको समथग्रहण समारोहमा थाइल्याण्ड मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुने बताइएको छ । मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Facebook Comments