निर्माणाधीन रंगशालामा डोजर लगाउने कँडेल पक्राउ, नेकपाद्वारा निलम्बन

चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बारमा आगजनी गरेको आरोपमा नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई प्रहरीले पक्राउ गरेको छ । मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेललाई मध्यरातमा भरतपुरबाट प्रहरीले पक्राउ गरेको हो । कँडेलसहित १७ जना आरोपित पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैवीच कर्मचारी कामदारको जीउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षामा खतरा देखिएको भन्दै रंगशाला निर्माणको काम स्थगित गरिएको धुर्मुश सुन्तली फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले विज्ञप्ति जारी गर्दै समस्याहरूको स्थायी समाधान र कामको वातावरण नहुँदासम्म काम स्थगित गरिने उल्लेख गर्नुभएको छ ।

नेकपाद्वारा कँडेललाई कार्वाही

यसैवीच पार्टी नीति विपरीत काम गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनले प्रकाश कँडेललाई पार्टी सदस्यता नरहने गरी कार्वाही गरेको छ । नेकपा चितवनका अध्यक्ष इन्द्रजित परियारले विज्ञप्ति जारी गरी कँडेल र भैरव बस्ताकोटीलाई कार्वाही गरिएको जानकारी दिनुभएको छ ।

Facebook Comments