बाग्लुङको पौंदीटारी विद्यालयमा अंग्रेजी माध्यममा पढाई भएसँगै गुणस्तरमा सुधार

बाग्लुङ बडिगाड गाउँपालिका वडा नं. ५ मा रहेको पौंदीटारी आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन थालिएसँगै शैक्षिक गुणस्तरमा सुधार भएको छ भने अभिभावकको विश्वासमा पनि अभिबृद्धि भएको छ ।


विद्यालयमा अंग्रेजी माध्यममा पढाई हुने हुँदा विद्यार्थीको आर्कषण भने बढेको छ । नर्सरीदेखि कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार भएसँगै वरिपरी रहेका निजी शैक्षिक संस्था समेत बन्द हुने अवस्थामा पुगेका छन् ।

तर अधिकांश विपन्न समुदायका विद्यार्थी रहेकाले विद्यार्थीहरुलाइ विद्यालय पोशाक र किताव कापी लगायतका शैक्षिक सामग्रीको भने अभाव भएको छ । अधिकांश विपन्न दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले आफ्ना बच्चाहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराउन नसकेका हुन् ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भइरहेका बेला उक्त विद्यालयमा भने २ सय २० जना विद्यार्थी अध्ययन रत रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य नविन कुँवरले जानकारी दिनुभयो ।

विद्यालयमा ५ जना शिक्षकको दरबन्दी रहेकामा ९ जना शिक्षक निजी श्रोतबाट राखिएको छ । शिक्षकको तलवका लागि मात्र विद्यालयले मासिक ८० हजार अतिरिक्त बजेट व्यवस्था गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक टिकाबहादुर भुजेलले जानकारी दिनुभयो ।

स्थानीय अभिभावकहरुसँग चन्दा माग्ने, देउसी भैलो खेल्ने, देश विदेशमा विभिन्न पेशा व्यवसाय तथा रोजगारी गर्नेहरुसँग सहयोग मागेर निजी श्रोतका शिक्षकलाई तलवको व्यवस्था गर्ने गरिएको व्यवस्थापन समितिका अध्यक्ष हेमलाल खरेलको भनाई छ ।

विद्यालयमा कम्प्युटर तथा विद्यार्थीका लागि पोशाक र शैक्षिक सामग्रीहरु खाँचो भएको र सहयोगी संस्थाहरुसँग सहयोगका लागि विद्यालयले आग्रह गरेको छ ।

Facebook Comments