किर्तीमानी सगरमाथा आरोही श्रेष्ठको पोखरामा अभिनन्दन

पुर्व राष्ट्रिय फुटवल खेलाडी तथा एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनलाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ ।

गोपाललाई सगरमाथा आरोहण गराउने समुह स्टेप अफ क्याम्पियन दोश्रो चरणले उनको स्वागत तथा अभिनन्दन गरेको हो । उहाँको अभिनन्दनमा पोखराका अधिकतम संघ सस्थाहरुको सहभागिता रहेको थियो भने अभिनन्दन पछि उनलाई पोखरा परिक्रमा पनि गराईएको थियो ।

दुई महिना अगाडी पोखरावाट सगरमाथा आरोहणका लागि निस्किएका श्रेष्ठले गएको ८ गते बुधवार विहान ७ः३० वजे सगरमाथाको टाकुरामा पाईला राख्नुभएको थियो । एआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो ।

पोखरा ७ रत्नचोक निवासी श्रेष्ठ आरोहण पश्चात फर्कने क्रममा स्वास श्वास र अन्य शारिरीक समस्याका कारण एक हप्ता काठमाण्डौमै उपचार गराएपछि शुक्रबार पोखरा आउनुभएको हो ।

स्टेप अफ क्याम्पिएनका संयोजक पदमराज पहारीले अभियानले पहिलो चरणको सफलता पाएको धारणा व्यक्त गर्नुभयो । पोखरा विमानस्थलमा अवतरण गर्दै आरोहि श्रेष्ठले यो सफलता संसार भरका एच आई भी संक्रमित र प्रभावितहरुमा समर्पण गरेको धारणा व्यक्त गर्नुभयो ।

अभियान पछि संक्षिप्त भनाई राख्दै अभियानकी सचिव जमुना शर्माले अव अभियानले एच आई भि संक्रमितका वालवालीकाका क्षेत्रमा काम गर्ने जानकारी दिनुभयो । श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनका फूर्वा तेन्जीङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण गर्नुभएको हो ।

२५ वर्षअघि एचआईभी सक्रमण भएका ५६ वर्षीय श्रेष्ठले ‘स्टेप अप क्याम्पेन ः सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गर्नुभएको हो । गोपालले सगरमाथा आरोहण गर्नुअघि सन् २०१३ मा ५,४१७ मिटर उचाइको थोराङ्ग ला पास, सन् २०१४ मा ६,१८९ मिटर उचाइको आइल्याण्ड पिक, सन् २०१६ मा ६,६४६ मिटर उचाइको भर्जिन पिक खाङ कार्पोको सफल आरोहण गर्नुभएको थियो ।

Facebook Comments