राजनीतिक नियुक्तिले न्याय प्रणालीप्रति अविश्वास : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मृख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय प्रणालीमा राजनीतिक हस्तक्षेप भएको बताउनुभएको छ । न्याय परिषद्मा योग्य र सक्षम भन्दा पनि नेता र पार्टीको वरिपरी घुम्नेलाई न्यायपरिषद् सदस्य बनाइनु, राजनीतिक पार्टीका कार्यकर्तालाई न्यायधीश बनाइनुले न्यायप्रति अविश्वास पैदा भएको गुरुङको भनाई छ ।

पोखरामा बिहीबार आयोजित मुलुकी देवानी र फौजदारी संहिता सम्बन्धि जानकारी तथा कानुनी क्षमता अभिबृद्धि विषयक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री गुरुङले न्यायधीशहरु नै पार्टी कार्यकर्ता भर्ती गर्न थालेपछि न्याय र कानुन प्रणाली व्यवस्थित हुन नसक्ने बताउनुभयो ।

साथै उहाँले समृद्धि भौतिक विकासले मात्र पुरा नहुने बताउनुभएको छ । मुलुकमा संघीयता कार्यान्वयनका लागि केन्द्रीकृत सोचाई बाधक रहेको जसले गर्दा मुलुकको समृद्धिमा समेत असर गर्ने मुख्यमन्त्री गुरुङको तर्क रहेको छ । उहाँले कानुनहरु केन्द्रीकृत रहेकाले संघीयता कार्यान्वयन जटिल भएको बताउनुभयो ।

संघीयता कार्यान्वयन सही रुपमा नभए अहिलेको राजनीतिक व्यवस्थाप्रति नै नागरिकको वितृष्णा उत्पन्न हुने गुरुङको भनाई छ । कानुनी हिसावले संघीयता नआएको तर्क गर्दै उहाँले न्यायप्रणाली र संहिता पनि संघीयतामैत्री हुन आवश्यक रहेकामा जोड दिनुभयो । मुख्यमन्त्री गुरुङले कर्मचारीहरु केन्द्रमुखी हुने, राजनीतिक पार्टीका नेताहरु केन्द्रमुखी हुने, पढेका विद्धानहरु केन्द्रमुखी हुँदा संघीयता कार्यान्वयनमा जटिलता देखिएको बताउनुभयो ।

Facebook Comments