प्रदेश नं. २ को नाम र राजधानीबारे प्रतिवेदन तयार

लामो समयपछि प्रदेश नम्बर २ को नाम, राजधानी र भाषाका विषयमा टुङ्गो लगाउन गठित संवाद तथा सुझाव आयोगले प्रदेश सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । बिहीबार आयोगका संयोजक हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदनमा मधेश, मिथिला, मिथिला भोजपुरा, मध्य मधेश, जानकी लगायतका नाम राख्न सुझाव दिइएको छ भने जनकपुर, विरगन्ज, बर्दिबास, लाहान, राजविराज, गौर, लालबन्दी लगायतका स्थानलाई राजधानी बनाउन सकिने बताइएको छ ।

प्रदेशको नाम, राजधानी र भाषा टुङ्गो लगाउन २०७५ साल कात्तिक ११ गते प्रदेश दुईको मन्त्रिपरिषद बैठकले डा.हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो ।

प्रतिवेदन प्राप्त भएसँगै प्रदेशको नाम र राजधानीको टुंगो लगाउन विधेयक प्रदेश सभाको बैठकमा पेश हुने भएको छ । सहमति नभए प्रदेशसभामा मतदान प्रक्रिया मार्फत् प्रदेशसभा र राजधानीको नाम टुंगो लगाउनुपर्ने प्रावधान रहेको छ ।

Facebook Comments