नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु

नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पशुपंक्षीको ज्यान लिँदै आएको सो रोगको संक्रमणबाट एक जना मानिसको पनि मृत्यु भएको पुष्टि भएको जानकारी दिएको हो ।

काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूको संक्रमणबाट मृत्यृ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीले जानकारी दिनुभयो । गत चैत्र १० गते ज्वरो र खोकीको लक्षण लिएर टेकूस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भर्ना गरिएका युवककाे ५ दिनपछि उपचारकै क्रममा मृत्यु भएको थियो ।

मन्त्रालयले मृतककाे मृत्यु पछि र्याल परिक्षणका लागि नमूना जापान पठाएको थियो । जापानको इन्फ्लून्जा सेन्टरले बर्ड फ्लूबाटै उनको ज्यान गएको पुष्टि गरेको रिर्पोट यही बैशाख १७ गते नेपाल पठाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्ड फ्लूको संक्रमणबाट एक जनाको ज्यान गएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको पनि स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो रोगबाट बच्न पशुपंक्षीको माशु राम्रोसँग पकाएर खाने तथा रोग लागेका व्यक्तिसँग सँगै नबस्न आग्रह गरेको छ । बर्ड फ्लूको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या आई मानिसहरुको ज्यान जाने गरेको चिकित्सकहरुले बताएका छन ।

Facebook Comments