जापानबाट छात्रबृत्ति वितरण गर्न पोखरामा

पोखराको एक सामुदायिक बिद्यालयमा छात्राबृत्ति वितरण गर्न जापानबाट एक टोली पोखरामा आएको छ । पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) कालाबाङमा रहेको भगवती आधारभुत बिद्यालयमा छात्रबृत्ति वितरण गर्न जापानबाट बुद्ध फाउण्डेसनको एक टोली पोखरा आएको हो ।

बुद्ध फाउण्डेसनका संस्थापक अध्यक्ष डा. ताकाजी यामागुचीले बिद्यालयमा १६ लाख ९० हजार ४ सय ५० रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त कोषबाट प्राप्त हुने व्याजबाट संस्थापक अध्यक्ष यामागुची सहितको एक टोलीले शुक्रबार बिद्यालयमा आयोजित स्पोटर्स मिट समापन समारोहमा छात्रबृत्ति वितरण गरेको हो ।

बिद्यालयका १५ जना छात्र/छात्रालाई छात्रबृत्ति स्वरुप जनही ३ हजार ५ सय रुपैया संस्थापक अध्यक्ष डा. यामागुची, फाउण्डेसनका अध्यक्ष योशीकाजु कातो लगायतले वितरण गरेका हुन् । गत बर्ष संस्थापक अध्यक्ष डा. यामागुची बिद्यालयमा छात्रबृत्ति वितरण गर्न असमर्थ भए पछि बिद्यालयले गत बर्षको समेत छात्रबृत्ति यसै बर्षमा वितरण गरेको बिद्यालयका कार्यवहाक अध्यक्ष प्रकाशचन्द्र गुरुङले जानकारी दिनुभयो ।

उक्त अक्षयकोष तीन बर्ष अघि स्थापना भएको हो । यामागुचीको पहलमा बिद्यालयमा ५४ लाखको लागतमा १२ कोठे पक्की भवन निमार्ण भए पश्चात भूकम्पको समयमा पनि भवनमा कुनै समस्या नआएको भन्दै संस्थापक अध्यक्ष यामागुचीले तत्कालिन अध्यक्ष प्रकाशचन्द्र गुरुङलाई राम्रो काम गरेको भन्दै एक हजार अमेरीकी डलर दिएपछि सो रकम गुरुङले व्यक्ति गत रुपमा प्रयोग नगरी यामागुचीकै नाममा अक्षयकोष स्थापना गर्ने भनि पत्र पठाए पछि यामागुचीले उक्त कोषमा बृद्धि गर्दै १६ लाख ९० हजार पुराएको कार्यवहाक अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

आफुलाई दिएको रकम व्यक्तिगत रुपमा प्रयोग नगरी बिद्यायको हितमा खर्चदा बिद्यालयमा हाल करिब १७ लाखको अक्षयकोष पुगेको उहाँको भनाई छ । विद्यालयले फाउण्डेसनका संस्थापक अध्यक्ष डा. यामागुचीको नाममा स्थापना भएको अक्षयकोषबाट बार्षिक रुपमा ९२ हजार रुपैया व्याज प्राप्त हुने जस मध्यबाट करिब ५० प्रतिशत छात्रबृत्ति र बाँकी ५० प्रतिशत बिद्यालयका शिक्षकहरुको तलवमा खर्च गर्दै आएको छ ।

Facebook Comments