आलोच्य बनेकाे ‘मेरो सरकार’


सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनि गरिएको सम्बोधनप्रति प्रतिपक्षी दलका नेता कार्यकर्ताका साथै सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भएको छ ।

अधिवक्ता विपिन भण्डारीले फेसबुकमा वेष्टमिनीस्टरको अभ्यास गरिरहेको नेपालमा राष्ट्रिपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनी सम्बोधन गर्नु शोभनीय नभएको उल्लेख गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनी सम्बोधन गरेपछि कटाक्ष गर्नुभएको छ । उहाँले सरकारको नीति तथा कार्यक्रम राजतन्त्रकालकै जस्तो झल्को दिने गरी आएको टिप्पणी गर्नुभएको छ । प्रवक्ता शर्माले ट्विट गर्दै नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर नभएको उल्लेख गर्नुभएको छ ।

प्रवक्ता शर्माले लेख्नुभएको छ, ‘राष्ट्रपतिलाई राष्ट्रपतिनै रहन दिऊ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन ! दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन !’

साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले पनि राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनी सम्बोधन स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर(जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ । यो राष्ट्रपतिको सरकार होइन। नेपाली जनताको सरकार हो। संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख छ ।’
यसअघिका नीति तथा कार्यक्रममा ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने शव्द उल्लेख हुने गरेको थियो ।

Facebook Comments