दुई तिहाईको सरकारले वैकल्पिक शक्तिको आवश्यकता झन् बढायोः संयोजक मिश्र

साझा विवेकशील पार्टीको नवलपुर जिल्ला सँयोजकमा हरिप्रसाद गौतम चयन हुनुभएको छ । पार्टीले शुक्रबार एक कार्यक्रमका बीच गौतमलाई नवलपुरको जिल्ला सँयोजक घोषणा गरेको हो ।

नवलपुरमा आयोजित जिल्ला सँयोजक घोषणा कार्यक्रममा पार्टीका केन्द्रीय सँयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले सँयुक्त रुपमा माटोको टिका लगाएर गौतमलाई नवलपुरको जिल्ला सँयोजक घोषणा गर्नुभएको हो ।

जिल्ला सँयोजक घोषणा भैसकेपछि गौतमले आफूमा अझै बढि जिम्मेबारी थपिएको प्रतिक्रिया दिनुभयो । नवलपुर राजनीतिक हिसाबले नेपालको कान्छो जिल्ला भएपनि काम र क्षमताको हिसाबले यो जिल्लालाई विशेष बनाउन आफ्नो नेतृत्वले काम गर्ने उहाँको भनाई छ ।

गौतमलाई माटोको टिका लगाएर जिल्ला सँयोजक घोषणा गरेसँगै पार्टीका केन्द्रीय सँयोजक रवीन्द्र मिश्रले सँधै कल्याणकारी भावनासहित राजनीतिमा अगाडि बढ्न शुभकामना दिनुभयो । उहाँले देशको स्थिती अहिले खराब अवस्थामा भएको बताउँदै वैकल्पिक शक्तिको आवश्यकता दिनप्रतिदिन झन् बढ्दै गएको दाबी गर्नुभयो ।

वैकल्पिक राजनीतिको यात्रामा जोडिएर कल्याणकारी राज्यको परिकल्पना गर्ने हरेकलाई उनले साझा विवेकशीलमा आउन आह्वान गर्नुभयो । साथै यही यात्रामा जिल्ला सँयोजकको नेतृत्वमा आएर जोडिएका गौतमलाई चुनौती थपिएको र त्यसलाई अवसरको रुपमा लिन मिश्रको सुझाव थियो ।

त्यस्तै पार्टीका प्रवक्ता समेत रहेका अर्का केन्द्रीय नेता डा. सूर्यराज आचार्यले अहिले सरकारको नेतृत्वमा रहेको पार्टी र सत्ताबाहिर रहेको नेपाली काँग्रेसले सुसँस्कृत राजनीति गर्छु भन्दै जनतामाझ भ्रम छरेको टिप्पणी गर्नुभयो । ‘६ करोड रुपैयाँको बजेट चाहिन्छ भन्दै कोकोहोलो गर्ने विधायकहरुले किन ६ अर्बको सही राजनीतिक हस्तक्षेप गर्न सक्छु भनेर सोँच्दैनन ?’ उहाँको प्रश्न थियो ।

त्यसैगरि अर्का केन्द्रीय सदस्य मुमाराम खनालले अहिले दुई तिहाईको सरकारले सहभागितामुलक लोकतन्त्रको वकालत गर्नुपर्नेमा ‘सहभागितामुलक लुटतन्त्र’ वकालत गरिरहेको आरोप लगाउनुभयो । त्यस्तै पार्टीकै अर्का केन्द्रीय सदस्य केशव दाहालले अबको अवस्थामा जनताले पनि सोँच्नुपर्ने बेला आएको बताउनुभयो । साझा विवेकशील पार्टीकै गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले पार्टीले अब सिमान्तकृत समुदायको मुद्दालाई पनि आफ्नो मुल मुद्दामा समावेश गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीकै कर्णाली प्रदेश सँयोजक गेहेन्द्रप्रसाद दाहाल, स्थानीय समाजसेवी कृष्णप्रसाद तिमिल्सेना, नवलपुरकै उद्योगी कृष्णप्रसाद गौतम लगाएतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम पार्टीको गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख टीएम पौडेलले स्वागत र कोपिला भण्डारीले संचालन गर्नुभएको थियो ।

Facebook Comments