रंगशाला निर्माणमा सरकारको सहयोग रहन्छः खेलकूदमन्त्री विश्वकर्मा

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

रंगशालाको शुक्रबार निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट समेत निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने प्रष्ट पार्नुभयो । उहाँले रंगशाला निर्माणका क्रममा सरकारको समेत साथ, सहयोग र लगानी समेत रहने उल्लेख गर्नुभयो ।

राष्ट्रिय गौरवका आयोजना भएकोले कुनै पनि प्रकारका अवरोध खडा गर्न नहुने मन्त्री विश्वकर्माको भनाई रहेको छ । सरकारको मात्रै एकल प्रयासबाट ठूला संरचना बनाउन सम्भव नभएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले जनता, सरकार र गैरसरकारी संघसंस्थाहरुको सहकार्यबाट राष्ट्रिय गौरवको आयोजना सफल हुने जिकीर गर्नुभयो ।

गत जेठ १५ गते रंगशालाको पश्चिम बारमा केही स्थानीयले डोजर लगाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ जना मध्ये १४ जना छुटिसकेका छन् भने बाँकी ४ जना छुट्ने क्रममा रहेका छन् । स्थानीयले पश्चिमतर्फ ३१ मिटर बाटो हुनुपर्ने र सो बाटो रंगशालाभित्रबाट हुनुपर्ने माग राखेका छन् ।

Facebook Comments