खाद्य स्वच्छता कायम गर्न तालिमको आयोजना

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीको सहकार्यमा पोखराका होटल तथा रेष्टुराँमा कार्यरत सेफ तथा कर्मचारीहरुका लागि एक दिने तालिम शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

तालिमको उदघाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारीले खाद्य पदार्थ मानिसको दैनन्दित जीवनसँग सरोकार भएको भन्दै खाद्यन्न स्वच्छ हुनुपर्नेमा जोड दिनुभयो । खाद्य पदार्थ गुणस्तरीय र सफा हुनुपर्ने उहाँको भनाई थियो । अहिले थुप्रै खाद्य पदार्थमा व्यापारीहरुले मिसावट गर्ने गरेको भन्दै अनुगमनको पाटोलाई समेत कडाईका साथ अगाडि बढाइनुपर्ने उहाँको सुझाव थियो ।

तरकारी र फलपूmलहरुमा अप्रत्यक्ष रुपमा केमिकल र विषादी मिसिने गरेको उहाँको भनाई छ । सो अवसरमा बोल्दै आयोजक संघका अध्यक्ष विकल तुलाचनले खाद्य स्वच्छताका लागि त्यससम्बन्धी नीति नियम र तरिकाहरुको समेत ज्ञान हुन जरुरी भएको बताउनुभयो । होटल तथा रेष्टुराँ क्षेत्रका लागि खाद्य स्वच्छता सम्बन्धी विषय झनै महत्वपूर्ण हुने ठानेर उक्त तालिम आयोजना गरिएको उहाँको भनाई थियो ।

वडा नम्बर ६ मा गठित खाद्य स्वच्छता समितिका संयोजक एवं संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले उक्त वडामा सो समिति कसरी गठन गरियो भन्ने बारे जानकारी गराउनुभएको थियो । प्रारम्भिक चरणमा खाद्य स्वच्छता सम्बन्धमा सचेतना फैलाएर त्यसपछि होटल तथा रेष्टुराँ क्षेत्रमा अनुगमन गर्ने योजना समितिले बनाएको पराजुलीको भनाई छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीका प्रमुख प्रशान्त पोखरेलले कार्यक्रमको महत्व बुझेर तालिममा भाग लिन आएकोमा सहभागीलाई धन्यवाद दिनुभयो । खाद्य स्वच्छताको हिसावले होटल तथा रेष्टुराँको बर्गिकरण गर्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो ।

खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवसको अवसरमा उक्त तालिम आयोजना गरिएको हो । ११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७६ को कार्यक्रम अन्तर्गत यो तालिम आयोजना गरिएको हो ।

Facebook Comments