कास्कीमा विप्लव नेतृत्वको नेकपाका २२ जना कार्यकर्ता पक्राउ

प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सहित २२ जनालाई पक्राउ गरेको छ । शनिबार साँझ सो पार्टी निकट विद्यार्थी संगठनको बैठक बसिरहेका बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की प्रहरीले भने विप्लवका १८ जना नेता कार्यकर्ता पक्राउ गरेको जनाएको छ । शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी(आक्रोश) सहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा विप्लव नेतृत्वको नेकपाको विशेष बैठक छ भन्ने सूचना पाएपछि कास्की प्रहरीले सिभिलमा प्रहरी परिचालन गरी साँझ उनीहरुलाई बैठकस्थलबाटै पक्राउ गरेको हो ।

प्रहरीको सूचनामा विप्लबका मध्यपश्चिम क्षेत्रका कमाण्डरसहित नेताहरु अन्नपूर्ण गाउँपालिकामा हुने विशेष बैठकमा सम्बोधन गर्न आउने बताइए पनि नेपाल कम्युनिष्ट पार्टीले भने विद्यार्थी संगठनको बैठक भएको स्पष्ट पारेको छ । विप्लव नेतृत्वको टोली स्थानीय आमा समुहको भवनमा बसेर विशेष छलफलको तयारी गरिरहेको समयमा प्रहरीले घेरा हालेको थियो । साँझ ६ बजेतिरउनीहरुलाई पक्राउ गरिएको हो ।

यसैवीच सो पार्टीका कास्की जिल्ला इञ्चार्ज रुपेशद्वारा जारी विज्ञप्तिमा गिरफ्तारी र धरपकडको विरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विदेशी शक्तिको इशारामा सञ्चालित वर्तमान सामाजिक फासविादी दलाल सत्ताले वैज्ञानिक समाजवादी राज्यस्थापनाका लागि देशमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमनको माध्यमबाट समाप्त गर्ने दिवास्वप्न देख्दै व्यापक दमनमा उत्रिएको सर्व्विदितै छ ।’

विज्ञप्तिमा विना शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने अधिकारलाई कुल्चदै गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिएको उल्लेख छ । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला कमिटी कास्की र पृथ्वीनारायाण क्याम्पस जिल्ला कमिर्टीको संयुक्त बैठक बस्ने क्रममा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश), अनेरास्ववियु (क्रान्तिकारी(का केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो संयोजक मिलन राई, अनेरास्ववियु (क्रान्तिकारी(का अध्यक्षद्वय जिल्ला कमिर्टी कास्कीका काजी गुरुङ र पृथ्वीनारायाण क्याम्पस जिल्ला कमिर्टीका प्रकाश बास्तोला लगायत २२ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक गतिविधिमा रोक लगाउने कार्यको घोर भत्र्सना गर्दै गिरफ्तार भएका सम्पूर्ण नेता कार्यकर्ताको विनाशर्त रिहाईको माग समेत विज्ञप्तिमा गरिएको छ । सरकारले विप्लव समूहकाे गतिविधिलाइ प्रतिवन्ध लगाएकाे छ ।

Facebook Comments