नीति तथा कार्यक्रममा नयाँ कुरा लेख्न मन लागेनः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रम दोहोरिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ कार्यक्रम ल्याउन मन नलागेको बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको स्वीकार गर्नुभयो । ‘पोहोरको राम्रा काम केही गर्न सकेको छैन’, शनिबार पोखरामा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको दोस्रो प्रदेशसभामा बोल्दै मुख्यमन्त्रीले भन्नुभयो, ‘यो पटक नयाँ कुरा केही छैन ।’

उहाँले ठूलाठूला योजना ल्याएर कार्यान्वनय नहुनुभन्दा त्यस्तो योजना नै नल्याउनु राम्रो हुने उल्लेख गर्नुभयो । गण्डकी प्रदेशलाई संघीय सरकारबाट आउने अनुदान सबैभन्दा कम रहेकाले आफ्नै स्रोत र साधनबाट अगाडि बढ्नु परेको उहाँको भनाई थियो ।

गण्डकी प्रदेशका टारहरुमा कुलो नहर बनाउने तर्फ संघीय सरकारले ध्यान नदिएको गुनासो गर्दै संघीय गण्डकी प्रदेशको विकास नहुँदा त्यसको दुःख केपी ओलीलाई नहुने तर्क समेत गर्नुभयो । ‘गण्डकी प्रदेश पृथ्वीसुब्बालाई दुखेको छ, केपी ओलीलाई केही हुँदैन’ उहाँले भन्नुभयोे, ‘पोखरा महानगर मानबहादुरलाई नै दुख्छ होला, त्यति मलाई हुँदैन ।’

उहाँले गण्डकी प्रदेशले तयार पारेको पहिलो पञ्चवर्षीय योजना अनुसार नै प्रदेशका विकास आयोजनाहरु अगाडि बढ्ने प्रष्ट पार्नुभयो । उहाँले निजी क्षेत्रलाई सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार ठूला परियोजनाहरुमा लगानी गर्न आग्रह गर्नुभयो ।

प्रदेश सरकारले यो वर्ष करिब ६ हजार युवालाई सीपमुलक तालिम दिने तयारी गरेको बताउँदै निजी क्षेत्रलाई कस्तो जनशक्ति आवश्यक छ भन्नेबारे स्पष्ट हुन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले सार्वजनिक निजी साझेदारीमा ठूला परियोजना संचालन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँले केही महिनाअघि सम्पन्न लगानी सम्मेलनमा आएका लगानीकर्ताहरु सोझै लगानी गर्न नभई यहाँको वातावरण बुझ्न आग्रह गर्नुभयो । उहाँले श्रोत र उत्पादनलाई बजारसँग जोड्दामात्र रोजगारी सृजना हुने भएकाले त्यो दिशामा लाग्न सरकारलाई सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्वाणकुमार श्रेष्ठले स्थानीय सरकारहरुले मनोमानी करको दर तोक्दा निजी क्षेत्र मर्कामा परेको सुनाउनुभयो ।

बागलुङमा सामान्य व्यवसायको कर नै ४ हजार रहेको र आफूहले संघीय सरकारलाई पनि कर तिर्नुपर्दा दोहोरो करको मारमा परेको जिकिर गर्नुभयो । कार्यक्रम तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले प्रदेश सरकारको खर्च गर्ने क्षमता बृद्धि नगरे सोचेजस्तो आर्थिक बृद्धि नहुने जिकीर गर्नुभयो ।

उहाँले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनुभयो । गण्डकीका सबै जिल्लाहरुको विकासको अवस्था राम्रो नभएको भन्दै सन्तुलित विकासमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले निजी क्षेत्र पीडा नै पीडामा बाँचेको जिकिर गर्नुभयो । प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई खासै महत्व नदिएको जिकिर गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका जिल्ला नगरतर्फका उपाध्यक्ष कृष्णराज पण्डितको धन्यवाद तथा अर्का एसोसियट उपाध्यक्ष मोति पौडेलको संचालन रहेको कार्यक्रममा बोल्दै महिला उद्यमी रामकली खड्काले गाउँगाउँमा बेरोजगार रहेका महिलाहरुलाई तालीम दिँदै रोजगार बनाउनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments