राज्य संरचना पुरानै हुँदा काम गर्न सकिएनः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै राज्य संरचना कायम रहेकाले काम गर्न कठिन भएको बताउनुभएको छ । चितवनको भरतपुरमा अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

जनआन्दोलनको बलले राजनीतिक परिवर्तन भएको, नयाँ नेतृत्वको सरकार आएको भएपनि कर्मचारी संयन्त्र पुरानै रहेका कारण सोच अनुसारको काम हुन नसेको बताउनुभएको हो । यसअघि पञ्चायती तथा राणाकालीन सोच भत्कन नसकेको उहाँको भनाई छ ।

पञ्चायतको बेलामा जे जसरी राज्य संयन्त्र चलेको थियो । अहिले पनि काम गर्ने सोच र तरिका सोही अनुसार छ । कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेकाले परिवर्तनको अनुभूति हुन नसकेको प्रचण्डको भनाई छ ।

परिवर्तन पछि राजनीतिक नेतृत्वले जित्छ कि परम्परागत ढङ्गले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहानै नपाई लडाइँ चल्ने गरेको उहाँको भनाइ थियो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने प्रचण्डको तर्क रहेको छ ।

बाँके निवासी अच्युतराज सुवेदीको विसं २०७२ को भूकम्पमा परी निधन भएको थियोे । उहाँ पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका छोरा हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारका जवान ओम सलामी मगरलाई रु २५ हजारसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा वर्ष व्यक्तित्व सम्मान २०७६ बाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा शारदा रानाभाट कुँवरलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका सम्बन्धमा अध्यक्ष प्रकाश सुवेदीले जानकारी दिनुभएको थियो ।

Facebook Comments