भरतपुर महानगरपालिकाकाे निर्वाचनमा मतपत्र च्यात्ने दाेषी ठहर

जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिकाको चुनावमा मतपत्र च्यात्ने दुईजनालाई कसुरदार ठहर गरेको छ। बिहीबार जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने तत्कालिन माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोण सिवाकोटीलाई कसुरदार ठहर गरेको हो।

उनीहरूलाई असार ५ गते सजाय ताेकिने बताइएकाे छ । नयाँ मुलुकी संहिताले एकपटक कसुरदार ठहर र अर्को पटक सजाय गर्ने व्यवस्थाअनुसार अदालतले असार ५ मा उनीहरूको सजाय तोक्ने भएको हो।

मतगणनासम्बन्धी सामाग्री बिगार्न वा नोक्सान गर्न नहुने त्यस्तो गरे १ लाख सम्म जरिवाना वा एकवर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

भरतपुरमा २०७४ वैशाख ३१ गते स्थानीय चुनाव भएको थियो। मतगणना हुँदै गर्दा जेठ १४ गते राति माओवादी प्रतिनिधि न्यौपाने र सिवाकोटीले मतपत्र च्यातेपछि साेही दिन पक्राउ गरी  प्रहरीले मुद्दा जिल्ला अदालतमा लगेको थियो। पछि उनीहरू धरौटीमा छुटेका थिए। निर्वाचन आयोगले मतपत्र च्यातिएपछि भरतपुर-१९ मा पुन: मतदान हुने निर्णय गरेको थियो।

पुन: मतदानपछि तत्कालिन एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै रेणु दाहालले मेयर निवार्चित हुनुभएकाे थियाे ।

Facebook Comments