मुग्लिङमा सवारी सूचारू

चितवन र तनहुँ जिल्लालाई जोड्ने मुग्लिङमा त्रिशुली नदीमा निर्माणाधीन आर्क ब्रिजको दुवैपट्टी सडक निर्माणका लागि सवारी आवागमन बन्द हुने गरेकामा अव बाटो खुल्ला भएको छ । आर्क ब्रिजमा जाने बाटो बनाउनका लागि दैनिक ९ घण्टा सवारी आवागमन बन्द गरी काम गरिएकोमा ३१ गतेबाट सवारी आवागमन खुल्ला गरिएको हो ।

बाटो निर्माण गरिरहेको इलाइट एड्भेन्चर लोहनी जेभीले जेठ ३० गतेसम्म बाटोका लागि भीर खन्नुपर्ने भएकाले उक्त बाटो अवरुद्ध भएको थियो ।

आर्क ब्रिज बैशाखमा नै निर्माण सम्पन्न भएपनि दुवैपट्टी सडक निर्माण नभएकाले सञ्चालनमा आउन सकेको छैन । सडक विभागले जेठ मध्यमा डिजाइन स्वीकृत गरेपछि सडक तयार पार्ने काम थालिएको हो । सडकको कटिङ सकिए पनि कालोपत्रे र पर्खाल लगाउने काम बाँकी नै रहेको छ । नियमित यातायात अवरुद्ध नभए पनि कालो पत्रे गर्ने बेला भने एकतर्फी यातायात सञ्चालन गर्ने तयारी निर्माण कम्पनीको छ ।

असारको मध्यमा सडक तयार भएपछि पुरानो जीर्ण मुग्लिङ पुललाई स्वदेशी प्राविधिकले तयार पारेको आर्क ब्रिजले विस्थापन गर्नेछ । यसअघि उक्त सडकखण्ड बिहान ११ देखि दिउँसो ३ बजेसम्म तथा राति ९ देखि बिहान २ बजेसम्म अवरुद्ध हुँदै आएको थियो ।

Facebook Comments