सरकार मानवीय संवेदनशीलतामा क्रुर बन्याेः नेकपा महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठका बुबा गिरिबहादुर श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । विप्लवले शोक विज्ञप्ति जारी गर्दै दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नुभएको हो ।

ओखलढुंगाको लिखु गाउँपालिका ५ निवासी ७४ वर्षीय श्रेष्ठको क्यान्सर रोगको उपचार गराउँदा गराउँदै जेठ ३१ गते शुक्रबार काठमाडौँमा निधन भएको हो । गिरिबहादुर श्रेष्ठका छोरा हेमनारायण जनयुद्धमा तत्कालीन राज्यसत्ताबाट बेपत्ता अवस्थामा र अर्का छोरा घनश्याम श्रेष्ठ २ महिनादेखि मोरङ कारागारमा बन्दी अवस्थामा हुनुहुन्छ ।

महासचिव विप्लवले वक्तव्यमा भनेका छन् ‘वर्तमान केपी–पीके कम्पनीको दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएपछि सयौँ नेता–कार्यकर्तामाथि झूट्टा मुद्दा लगाएर हिरासत र जेलको यातनापूर्ण जीवन बिताउन बाध्य पारेको छ । कमरेड पुष्करलाई पनि विभिन्न झूट्टा मुद्दा लगाएर बन्दी बनाइएको छ ।

बुबा गिरिबहादुर श्रेष्ठले अन्तिम समयमा छोरा पुष्करसँग भेट गर्ने इच्छा व्यक्त गर्नु भएको तर उहाँको अन्तिम इच्छालाई समेत लत्याउँदै यो सरकारको गृह प्रशासनले क्रुरता र निचताको पराकाष्ठा प्रदर्शन गरेको विज्ञप्तिमा उल्लेख छ ।

मानवीय संवेदनशीलतामा समेत क्रुरता प्रदर्शन गर्ने वर्तमान सरकारको क्रियाकलापप्रति विज्ञप्तिमा विप्लवले खेद प्रकट गर्नुभएको छ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको छ । उक्त पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिरहेको छ ।

Facebook Comments