गणतन्त्र आधा, त्यो पनि अलपत्रः सरल सहयात्री

पोखरामा र्याण्डम रिडर्स सोसाइटीमा जनयुद्ध पृष्ठभूमिलाई आधार बनाएर लेखिएको सगरमाथा आरोहणसँग जोडिएको ‘शिखरको ढुंगा’को परिचर्चा भएको छ । उक्त कृति सरल र पठनीय भएको कार्यक्रम सहजकर्ता विष्णु ज्ञवालीले उल्लेख गर्नुभयो ।

र्यान्डम रिडर्स सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न कृतिमाथि चर्चा तथा बहस गर्दै आइरहेकोमा जेठ ३२ गते शनिबार सरल सहयात्रीद्वारा लिखित ‘शिखरको ढुंगा’को परिचर्चा गरिएको हो । कार्यक्रमले पठन संस्कृति विकास गर्ने संस्थाका अध्यक्ष केशवशरण लामिछानेले विश्वास व्यक्त गर्नुभयो ।

सरल सहयात्री तत्कालीन माओवादी र सरकारपक्षबीच भएको १० वर्षे जनयुद्धमा सहभागी भएका पात्र हुनुहुन्छ । जनयुद्धका क्रममा सैन्य मोर्चामा आवद्ध सहयात्रीले संघर्ष भोग्नुभएको छ र सपना थियो देशमा गणतन्त्र ल्याउने । तर सहयात्रीलाई आजको दिनमा गणतन्त्र नागरिकको जीवनमा आउन नसकेको प्रतित भएको छ । कृतिमा गणतन्त्र आधा आएको र त्यो पनि कतै अलपत्र अवस्थामा रहेको उल्लेख छ ।

सगरमाथाको सफल आरोहण गरिसकेका सहयात्रीले शिखर चढ्नु र जनयुद्ध लड्नु दुवै सजिलो नरहेको बताउनुभयो । मृत्युलाई स्वीकार गरेरै यी काममा सहभागी हुने सहयात्रीको भनाई छ । सहयात्रीका शिखरको ढुंगासहित ३ कृति प्रकाशित छन् । विशाल सपना बोकेर क्रान्तिमा होमिएको माओवादी पार्टीको आदर्श शान्ति प्रक्रियामा आएपछि हराएको सहयात्रीको अनुभव छ ।

Facebook Comments