गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौमा प्रदर्शन

सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । काठमाडौंको बसन्तपुरबाट ज्यापु महागुठीलगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले सरकारले धार्मिक, सांस्कृतिक र परम्परामाथि हस्तक्षेप गरेको भन्दै विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले विधेयक फिर्ता नभएसम्म वार्तामा समेत नबस्ने चेतावनी दिएका छन् ।

उनीहरुले सरकार जनविरोधी गतिविधिमा संलग्न भएको, गुठी कब्जा गरेर कार्यकर्ताको पालनपोषणमा लागेको र भूमाफियाको बचाउ गरेको भन्दै विधेयक फिर्ता नगरे सरकार ढाल्नेसमेत चेतावनी दिएका छन् । वसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन न्यूरोड, टेकु, ठमेल, दरबारमार्ग, रत्नपार्क, शहिदगेट हुँदै पुनः बसन्तपुर पुगेर सकिएको थियो ।

यसैबीच ‘गुठी विधेयक खारेजी अभियानले विधेयक खारेजीको माग गर्दै वसन्तपुरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अगुवाइमा धर्ना दिइएको हो । विधेयक खारेज नभएसम्म धर्ना जारी रहने जोशीले बताउनुभयो ।

Facebook Comments