सरकार नै कमिसनको चक्करमा: काँग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संरक्षणमा ठूला भ्रष्टाचार बढ्दै गएको बताउनुभएको छ । कमिसनको खेलमा लोकतन्त्र र जनतालाई कमजोर बनाउने शैलीमा अर्थतन्त्र नै धरापमा पार्न सरकार लागिपरेको नेता पौडेलको जिकीर छ ।

उहाँले कमिसनको चक्करमा मेलम्ची, अपर तामाकोशी, बुढीगण्डकी जस्ता ठूला आयोजनामा सरकारले चलखेल गरेको आरोप लगाउनुभयो ।

शैलजा आचार्य आदर्श समाजद्वारा आयोजित भ्रष्टाचार बिरुद्ध नागरिक अभियान कार्यक्रममा नेता पौडेलले कांग्रेसले देश, लोकतन्त्र र नेपाली जनतालाई डुब्नबाट जोगाउने बताउनुभयो ।

२ तिहाईको दम्भमा अदालत र अख्तियारलाई कमजोर बनाउँदै आफू अनुकुल बनाउँदै लगेकोमा पौडेलको आपत्ति थियो ।

कम्युनिस्टले जनतालाई राहत दिन नसक्ने ठोकुवा गर्दै राष्ट्रको जीवनमा देखा परेको संकटलाई पार गर्न भ्रष्टाचार विरोधी अभियान तल्लो तहसम्म पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस आफैंले बनाएको कानुनमा आफ्नै नेता परे पनि नछोडेको बताउँदै वर्तमान ओली सरकार भ्रष्टाचारीको सरंक्षण र बचाउमा लागेको आरोप लगाउनुभयो ।

प्रजातन्त्रलाई कमजोर बनाउन सिद्धान्त र नीति विपरीत काम गरे पनि भ्रष्टाचार हुने बताउँदै नेता पौडेलले नीतिगत भ्रष्टाचार निरुत्साहित गर्नु पर्नेमा जोड दिनुभयो ।

देशलाई असफल बनाउने खेलमा नेपाली कम्युनिस्ट लागिपरेको उदाहरण दिँदै नेता पौडेलले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार र जनतामैत्री भएर काम गर्न निर्देशन दिनुभयो ।

नेता पौडेलले भ्रष्टाचारमा नडुबेको पार्टी नेपाली कांग्रेस भएको उल्लेख गर्दै कम्युनिस्टले लगाउने आरोप मिथ्या प्रमाणित हुँदै गएको जिकरिु गर्नुभयो ।


आदर्श समाजकी नेतृ कमला पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बुद्धिजीवी हरिबहादुर थापाले शैलजा आचार्य आदर्श नारी भएको उल्लेख गर्नुभयो ।

कृषि मन्त्रालय सम्हाल्दा नेतृ आचार्यले भ्रष्टाचारमा मन्त्रालय डुबेको भन्दै राजीनामा दिनुले राजनीतिक नैतिकता उच्च भएको थापाको भनाई थियो ।

कार्यक्रममा कांग्रेस नेता तारानाथ रानाभाटले पञ्चालयकालमा भन्दा सय गुणा भ्रष्टाचार बढेको आरोप लगाउनुभयो ।

जनमतलाई लत्याउनु ठूलो भ्रष्टाचार भएको प्रसंग कोट्याउँदै धर्म, संस्कृति र लोकतन्त्रमाथि भएको खतरा हटाउन शैलजा आचार्य आदर्श समाजले देशभर भण्डाफोर अभियान चलाउनुपर्ने रानाभाटको सुझाव थियो ।

Facebook Comments