गुठी विधेयकको विरोध गर्दै विश्व हिन्दु युवा संघले आन्दोलनमा

गुठी विधेयकको विरोधमा विश्व हिन्दु युवा संघले देशैभर आन्दोलन चर्काउने भएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै विधेयक विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलन अन्तर्गत असार २ गते देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरहरुमा विहान साँढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्र्त्क्रिया, ७ गते गुठी ऐनको विरोधमा विरोध सभा गर्ने, ८ गते देशभरका मठ मन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने लगायतका कार्यक्रम रहेको समितिका महासचिव रोशन जंग बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी, १० गते गुठी विधेयकविरद्ध देशभर कडा आन्दोलन गर्ने समितिका महासचिव बस्नेतले जानकारी दिनुभयो । समितिका सभापति सागर थापाले देशमा धर्मसंस्कृतिविरद्ध श्रृंखलावद्ध आक्रमण भएकाले सबै एकजुट भएर कडा संघर्षमा उत्रने बेला आएको बताउनुभयो ।

विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्म नरहे देशकै अस्तित्व सकिने भन्दै वर्तमान सरकार धर्मनाशमा लागेको आरोप लगाउनुभयो । हिन्दु धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार भइरहेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले विधेयक फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न तयार रहन चेतावनी दिनुभयो । भूमाफियाको इशारामा सरकार चलिरहेको भन्दै नेपाली जनता अब चुप लागेर नबस्ने भण्डारीको भनाई थियो ।

Facebook Comments