गर्मीका कारण चितवनका विद्यालय ३ दिनका लागि बन्द

चितवनमा बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरु सोमबारदेखि बुधबारसम्म बन्द गरिने भएको छ ।

भरतपुर महानगरपालिकाले आइतबार सूचना जारी गर्दै गर्मी बढेको कारणले महानगरभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको हो ।

महानगरपालिकाले पठनपाठन हुने कुल दिनमा नघट्ने गरी बिदाको व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिएको हो ।

महानगरपालिकाबाट आइतबार जारी गरिएको सूचनामा असार २ गतेबाट असार ४ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको छ ।

खैरहनी नगरपालिकाले नगर भित्र रहेका सामुदायिक विद्यालय तीन दिन वन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै असार २ गतेदेखी ४ गतेसम्म विद्यालय वन्द गर्ने निर्णय गरिएको खैरहनी नगरपालिकाले जनाएको छ ।

उता पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाले पनि असार २ गतेदेखि ४ गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण समस्या भएको भन्दै विद्यालय बन्द गरिने नगरपालिकाले जनाएको छ ।

Facebook Comments