हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम सञ्चालनमा ल्याउने

अमेरिकी सरकारको निर्देशनमा गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्नमा प्रतिबन्ध लगाएपछि चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम विकास गर्दैछ ।

हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम हङ्गमेङ्ग सञ्चालनमा ल्याउन लागेको हो । हुवावेको यो अपरेटिङ्ग सिस्टम गुगुलको एन्ड्रोइडभन्दा धेरै तेज हुनसक्ने अनुमान गरिएको हो ।

ग्लोबल टाइम्समा स्रोतको हवाला दिँदै छापिएको समाचार अनुसार छिट्टै नै लञ्च हुने हङ्गमेङ्ग गुगलको एन्ड्रोइडभन्दा निकै तेज हुनेछ ।

यसअघि गुगलका प्रतिनिधिले अमेरिकी सरकारसँग हुवावेले गर्न सक्ने प्रविधि विकासका बारेमा छलफल गरी चीनसँगको व्यापार तनावलाई संवादबाट हल गर्न भनेको बताइएको छ ।

गुगल, फेसबुक लगायतका कम्पनीलाई समेत हुवावे कम्पनीका स्मार्टफोनमा आफ्ना एप्स चलाउन नदिदा ठूलो क्षति हुने डर रहेको छ ।

ग्लोबल टाइम्सले उल्लेख गरे अनुसार हुवावेले इन्टरनेट दिग्गज कम्पनी तथा घरेलु स्मार्टफोन कम्पनीहरुसँग मिलेर आफ्नो अपरेटिङ्ग सिस्टम हङ्गमेङ्गको परीक्षण गरिरहेको छ । गुगलको प्ले स्टोर भन्दा पनि गुणस्तरीय एप ग्यालरी बनाउने हुवावेको लक्ष छ ।

एजेन्सीको सहयोगमा

Facebook Comments