गण्डकी प्रदेशको बजेट महत्वकांक्षी भएको मन्त्रीकै भनाई

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आइतबार आफैले प्रस्तुत गरेको बजेट महत्वकाक्षी भएको आज बताउनु भएको छ । सोमबार नेपाल पत्रकार महासंघ कास्की शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले सो कुरा बताउनु भएको हो ।
आगामी वर्षदेखि विकास प्राधिकरण नै बनाएर राष्ट्रिय गौरवका आयोजनालाई अगाडी बढाउने प्रदेश सरकारको तयारी रहेको उहाँले बताउनुभयो । यस वर्ष ३ अर्ब २८ करोड आन्तरिक राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेको भन्दै यो लक्ष्यको करिब ६० देखि ७० प्रतिशत रकम यातायात क्षेत्रबाट पूर्ति हुने बताइएको छ ।

चालु आर्थिक बर्षमा ६० देखि ६७ प्रतिशत मात्रै बजेट खर्च हुने अबस्थामा अर्को आर्थिक बर्षमा बजेट सत प्रतिशत कार्यान्वयन गराउन लागि पर्ने मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले कर्मचारी अभावमा काम हुन नसके कर्मचारी करारमा राखेर भएपनि काम गर्ने बताउनु भयो ।मन्त्री गुरुङले २९ अर्ब बजेट ल्याउनु पर्ने अबस्थामा आफुले महत्वकांक्षी योजना सहित ३२ अर्ब, १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको बताउनु भयो ।