अदालतले छाड्न भनेका विप्लव नेतृत्वकाे पार्टी कार्यकर्ता पुनः पक्राउ गरेपछि विराेध

उच्च अदालत बार एशोसियसन पोखराले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई अदालतले छाड्ने आदेश दिएपनि पुनः पक्राउ गरेकाेमा विराेध जनाएकाे छ । हतियार देखाएर मध्यरातमा अदालतबाटै प्रहरीले पक्राउ गरेको भन्दै उच्च अदालत बार एशोसियसन पोखराले विरोध जनाएको हाे ।

आईतबार एशोसियसन पोखराले शान्तिपूर्ण र्यालीकाे आयोजना गरी प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापन पत्र समेत बुझाएको छ ।

बार एशोसियन पोखराका अध्यक्ष रोहित बाँस्तोला र सचिव विनोद रेग्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अदालतको आदेशको पालना गर्न र मानवअधिकारको रक्षा गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् ।

एशोसियनका अध्यक्ष बाँस्तोलाले भन्नुभयो–‘रातको १२ बजेको समयमा वडा प्रहरी कार्यालय बैदामका डिएसपीको नेतृत्वमा रहेको टोलीले अदालत भित्र अनाधिकृत रुपमा ट्रक प्रवेश गराई जबरजस्त बारको कार्यालय भित्र बसेका विप्लव समर्थित कार्यकर्तालाई बन्दुक देखाएर जबरजस्ती पक्राउ गर्नु निन्दनीय कार्य हो ।’

अदालतको आदेशले थुनामुक्त भएकालाई तुरुन्त पक्राउ गर्नु मानवअधिकारको घोर उल्लंघन र अदालतको मर्यादामा आँच आउने निन्दनीय कार्यको घोर भत्र्सना गर्दै अध्यक्ष बाँस्तोलाले यस घटनामा संलग्न दोषीमाथि कार्वाही गर्नु पर्ने माग राख्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापन पत्र बुझाउँदै स्वतन्त्र न्यायपालिकाको गरिमाको रक्षा गरियोस्, कानुनी राज्यको अवधारणालाई सम्मान गरियोस्, अदालतको अनुमती बिना अदालतको परिसर भित्र अनाधिकृत प्रवेश एवम् नागरिकलाई गैरकानुनी रुपमा पक्राउ गर्ने कार्य बन्द गरियोस् र मानवअधिकारको संरक्षण गर्न कानुन व्यवसायीहरुले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले कहीँ कतै प्रक्रिया विधि अनुसार हुन गएको छैन भने छानबिन गर्ने र सुरक्षाको विषयमा अलि गम्भिर रुपमा लिईने बताउनुभयाे ।

कास्की प्रहरीले गत जेठ २५ गते अन्नपूर्ण गाउँपालिका वडा नं. ११ उरीस्थित आमा समूहको भवनमा बैठक बसिरहेको बेला नेकपा कास्कीका जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश), जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सचिवालय सदस्य मिलन राई, अन्नपूर्ण गाउँपालिकाका सेक्रेटरी सन्तोष विक, विद्यार्थी नेता प्रकाश बाँस्तोला, आस्था नेपाली, उपेन्द्र परियार, प्रमोद सिं, दीपेन्द्र बुढा, रवीन पौडेल, कमला परियार, प्रतिक्षा भण्डारी, अनिता परियार, देवी गुरुङ, राजन साउद, सुजन सापकोटा, बसन्त अर्याल, गगन परियारलाई पक्राउ गरेको थियो । उनीहरु मध्ये ९ जनालाई राज्यद्रोह र ९ जनालाई सार्वजनिक मुद्दा चलाएको थियो ।

उनीहरु मध्ये ९ जनालाई उच्च अदालत पोखराले गत शुक्रबार नै रिहाको फैसला सुनाएको थियो । दिउँसोदेखि सिभिलमा खटिएका प्रहरीले अदालत घेराऊ हालेपछि उनीहरु पुनः पक्राउ पर्ने डरले बार एशोसियसनको कार्यालय भित्र बसेका थिए । जसलाई मध्यरातमा प्रहरीले हतियार देखाउँदै जबरजस्ती डाँडाकोनाक प्रहरी चौकीमा लगेर राखेको छ ।

Facebook Comments