पार्टी एकीकरणका समयमा भएका सबै सहमति कार्यान्वयन हुनुपर्छःप्रचण्ड

प्रमुख सत्तारुढनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका समयमा भएका सबै सहमति पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने बताउनुभएकाे छ ।

पार्टी कार्यालय धुम्बाराहीमा रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । उहाँले एकीकरणका बेला भएका सहमति अनुसार नै पार्टी सञ्चालन सञ्चालन हुनुपर्ने बताउनुभयाे ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा सत्ता हस्तान्तरणका विषयमा भएको सहमतितर्फ संकेत गर्दै प्रचण्डले सहमतिहरु इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताउनुभयाे ।

यसअघि समान अवधि सरकारकाे नेतृत्व गर्ने भन्ने सहमति सार्वजनिक भएपछि नेकपाभित्र तरङ्ग सिर्जना भएकाे छ ।

उहाँले सहिदका सपना साकार पार्न कम्युनिस्ट पार्टीलाई जनताले मत दिएको प्रष्ट पार्दै त्यसलाई खेर जान दिन नहुने बताउनुभयाे । अध्यक्ष दाहालले जनवादमार्फत् समाजवादमा पुग्ने कम्युनिस्ट पार्टीको लक्ष्य भएको बताउनुभयाे ।

पार्टी एकीकरण गर्दा प्रष्ट रुपमा वैचारिक लाइन तय भइसकेको भए पनि कतिपय नेताहरुले यसलाई गलत ढंगबाट व्याख्या गरेको उहाँकाे भनाइ थियो ।

पछिल्ला दिनमा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद नै पार्टीको लाइन भएको बताउँदै आएका छन् । तर, एकीकृत पार्टीको दस्तावेजमा जनताको जनवाद मात्र उल्लेख छ ।

Facebook Comments