कंलकी मालपोत कार्यालय प्रविधिमैत्री

काठमाण्डौको कंलकीमा रहेको मालपोत कार्यालयलाई नमुना घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना मालपोत कार्यालय घोषणा गर्नुभएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार नमूना मालपोत कार्यालयमा प्रविधिको प्रयोगलाई जोड दिइएको छ । प्रविधिका कारण सेवा प्रवाहको अनियमितता रोकिने अपेक्षा गरिएको छ ।

विभागका अनुसार नमुना मालपोत कार्यालय कार्यालयमा पूर्ण रुपमा अनलाइन सेवा उपलब्ध हुनेछ । सेवाग्राहीले मालपोतको सेवा लिनका लागि आवश्यक फारम अनलाइनमा भर्ने र सब्मिट गरेर प्रिन्ट गरेर कार्यालयमा गए काम तिव्र हुने व्यवस्था गरिएको छ ।

आफैं अनलाइन फारम भर्न नसक्नेहरुले नजिकको भू–सेवा केन्द्रमार्फत यो सुविधा लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्रवाह समेत एकद्वार प्रणालीको व्यवस्था रहेको छ ।

अब नमुना मालपोत कार्यालयमा सेवाग्राहीले फाइल पेस गरेपछि कर्मचारीले नै सम्बन्धित फाँटमा पठाउने र काम सम्पन्न भएपछि सेवाग्राहीले फाइल फिर्ता पाउने व्यवस्था मिलाइएको छ ।

जग्गा कारोबार भएपछि सेवाग्राहीको मोबाइलमा सन्देश जाने व्यवस्था समेत मिलाइएको छ । नमूना कार्यालयको सबै जग्गासम्बन्धी सबै ढड्डा र स्रेस्तालाई कम्प्युटरकृत गरिएको । चाहेको बेला कम्प्युटरमा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

Facebook Comments