मन्त्रिमण्डल पुनर्गठन हुन्छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित गरेपछि मन्त्रिमण्डल पुनर्गठन हुने बताउनु भएको छ ।

पोखरामा प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले केही मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग छलफल भईरहेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि यो प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उहाँले चाहेको बेला मात्र पुनर्गठन हुने जानकारी दिनुभयो ।

आफू पनि पार्टी अध्यक्ष भएकाले बजेटपछि सरकारमा केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको उहाँले बताउनु भयो ।


यसैविच प्रचण्डले पार्टी एकताको कामलाई अन्तिम रुप दिने तयारीमा दुवै अध्यक्ष केन्द्रीत भएको जानकारीदिनु भयो । ‘एकातिर पार्टीलाई गतिशील बनाउने, जनतासँग जोड्ने अभियानको रूपमा लैजान पार्टी एकतालाई अन्तिम रुप दिने कशरतमा छौँ। धेरैजसो कुरा टुंग्याएका छौँ। बाँकी रहेको पार्टी केन्द्रीय विभागको काम देखि आयोगहरू, संरचनाहरू बनाउने टुंग्याउने चरणमा छौँ’, उहाँले ‘हिजोमात्रै प्रधानमन्त्रीसँग लामो छलफल गरेर एकपटक फेरी धक्का दिएर जानुपर्छ र सबै टुंग्याउनुपर्छ भन्ने कुरा भयो।

यहाँबाट फर्केर गएर टुंग्याउने र पर्सि सचिवालयको बैठक बसेर यसको समापन गर्ने तिर हाम्रो प्रयास छ।’ सरकारको नेतृत्व गर्ने पार्टी भएकोले देशको, सरकारको, समग्र विकास प्रक्रियाकै निम्ति पार्टीको सबै खाले एकताले रणनीतिक अर्थ राख्ने प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।

गुठी लगायतका केही विधेयकमा जनताको असन्तोष देखिएको भन्दै प्रचण्डले जनताको असन्तुष्टिलाई देखेर नै विधेयक फिर्ता लिइएको बताउनुभयो ।

विधेयकबारे सबैलाई समयमै बुझाउन नसक्नु र विधेयक निर्माणका क्रममा सरोकारबालासँग परामर्श नगरिनुको परिणाम अहिलेको अवस्था भएको पनि उहाँले बताउनु भयो । देश भरका सबै गुठीलाई एउटै डालोमा राखेर हेर्न नमिल्ने प्रचण्डको तर्क छ ।

कास्कीमै जन्मनु भएका अध्यक्ष प्रचण्डले पोखरा आउँदा माइत आएजस्तै लाग्ने पनि बताउनुभएको छ । ‘कास्की पोखरामा आउँदा कताकता माइत आएको जस्तो फिल हुन्छ’, उहाँले ‘आफ्नो पन, सबै बचपनका यादहरू ताजा आउछन् नेपालकै सबैभन्दा सुन्दर पर्यटकीय नगरी पोखरा भएको कारणले पनि पोखराको छुट्टै महत्व रहेको उहाँको भनाई थियो ।

Facebook Comments