गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकियाे

गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकिएको छ । असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेट माथिको छलफल विहीबार सकिएको हो ।

बजेटमाथिको छलफलको अन्तिम दिन विहीबार आर्थिक मामिला तथा योजना मन्त्री किरणसांसदहरुले बजेटमाथि उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

जवाफ दिने क्रममा मन्त्री गुरुङले बजेट लक्षित वर्गलाई केन्द्रित गर्दा वितरणमुखी जस्तो देखिएको स्वीकार गर्नुभयो । उहाँले उद्यम गर्न चाहनेप्रति बजेट केन्द्रित रहेको जिकीर गर्नुभयो ।

बजेट ऋण गरेर भएपनि उद्यम गर्न चाहनेहरुप्रति केन्द्रित रहेको उल्लेख गर्दै मन्त्री गुरुङले ५ वर्ष भित्रमा प्रदेश सरकारलाई आन्तरिक राजस्वबाटै चालु खर्च धान्ने बनाउने बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले नागरिकलाई कर तिर्न प्रोत्साहन गरी आन्तरिक राजश्व बढाउनेतर्फ सरकार लाग्नेछ ।

मन्त्री गुरुङले निर्वाचन क्षेत्र विकास कार्यक्रम कुनै एउटा सांसदलाई मात्र नभई प्रत्यक्ष र समानुपातिक दुवै सांसदको समान हैसियतमा कार्यान्वयन हुने बताउनुभयो ।

पोखरालाई पर्यटकीय राजधानी बनाउने र समग्र गण्डकी प्रदेशलाई पर्यटकीय हब बनाउनका लागिपनि बजेट छुट्याइएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले चालु आर्थिक वर्षमा १० हजारलाई स्वरोजगारसहित रोजगारी सृजना गरेको जिकीर गर्नुभयो ।

यसैवीच बिनियोजन विधेयक विधेयक २०७६ प्रदेश सभामा टेबुल भएको छ । गण्डकी प्रदेश सभाको विहीबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बिनियोजन विधेयक प्रदेश सभामा टेबुल गर्नुभएको हो ।

शुक्रबार बस्ने प्रदेशसभा बैठकमा बिनियोजन विधेयकमाथिको दफावार छलफल शुरु हुनेछ ।

Facebook Comments