जिल्ला इञ्चार्जको हत्या भएको विप्लवको दावी, असार १० मा नेपाल बन्द

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका सर्लाही इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको बताएको छ ।

सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै पौडेलको प्रहरीले कायरतापूर्वक हत्या गरेको उल्लेख गर्नुभएको छ ।

साथै विज्ञप्तिमा नेपाल बन्द सहितका संघर्षका कार्यक्रम समेत नेकपाले घोषणा गरेको छ । जनक्रान्तिबाटै हत्याको बदला लिने चेतावनी दिदैं नेकपाले नेपाल बन्दसहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रम अनुसार ७ गते प्रचारप्रसार, ८ गते कोण सभा तथा घरदैलो , ९ गते मसाल जुलुस, १० गते आमहड्तालसहित नेपाल बन्द गर्ने रहेको छ ।

पौडेललाई नियन्त्रणमा लिएर वर्वरतापूर्वक हत्या गरिएको दाबी गर्दै मानवअधिकारकर्मी, सञ्चार जगत र वुद्धिजीवी स्वतन्त्र छानविनका लागि समेत महासचिव विप्लवले आग्रह गर्नुभएको छ ।

यसअघि सो पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलमाथि प्रहरीले हात र टाउको गोली हानी कायरतापूर्वक हत्या गरेको दावी गर्नुभएके थियो ।

यसैवीच मानव अधिकार आयोगले पनि पौडेलको निधन सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ । आयोगका प्रवक्ता वेद भट्टराईका अनुसार घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय र प्रदेश नम्बर २ कार्यालयबाट टोली खटिएको हो ।

उक्त टोलीले घटनाको अनुसन्धान गरेर तत्कालै आयोगमा प्रतिवेदन बुझाउने छ । प्रहरीले चलाएको गोलीबाट पौडेलको बिहीबार मृत्यु भएको थियो । प्रहरीले भने दोहोरो भिडन्तमा पौडेलको मृत्यु भएको दावी गरेको छ ।

Facebook Comments