भरतपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

चितवनको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सुरू गरिएको हो ।

भरतपुर महानगरपालिकाकि मेयर रेनु दाहालले वडा नं २२ पटिहानीमा आयोजित कार्यक्रममा कामदारलाई रंग लगाउने सामाग्री सहित बेल्चा लगायतका सामाग्री दिएर महानगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उदघाटन गर्नुभएको हो ।

प्रमुख दाहालले रोजगार आम नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकको अधिकार र आवश्यकता पूरा गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो ।

रोजगार कार्यक्रमलाई उत्पादनमुलक बनाउन आफुहरु लागि परेको प्रमुख दाहालको भनाई छ । सो अवसरमा मेयर दाहालले कामको खोजीमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै काम गर्ने र रोजगार बन्ने समय आएको बताउनुभयो ।
विदेशमा युवा पलायन रोक्न र स्वदेशमा रोजगारी सृजना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको भन्दै उनले श्रममा विश्वास गर्नेहरुका लागि यो उपयुक्त अबसर भएको बताए ।

महानगरपालिकाले सबै वडाहरुमा यो कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने पनि उहाँले जानकारी दिनुभयो । महानगरपालिका श्रोतका अनुसार पहिलो चरणमा ३८४ जनाले रोजगार पाउने छन् ।

वडा नम्बर २२ मा १६ जनाले पारिश्रमिकमा आधारित रहेर २० दिन दैनिक रु ८०० का दरले पारिश्रमिक पाउने गरी वडामा विकास निर्माणमा काम गर्नेछन् । रोजगारमैत्री प्रथम महानगर बनाउन लागि पर्ने रोजगार संयोजक बिनोद खरालको भनाई छ ।

भरतपुर २२ का वडाध्यक्ष बिष्णुराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरकी उप मेयर पार्वती शाह, आर्थिक तथा सामाजिक महाशाखा प्रमुख प्रद्दुन्न उपाध्याय, नेकपा भरतपुर २२ का प्रतिनिधि रामहरि सेढाई, नेपाली काङ्ग्रेसका वडा सभापति कुमार थपालिया लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments