पत्रकार कुँवर, पाैडेल र राना पुरस्कृत हुँदै

पोखरा पत्रकारिता सम्मान पत्रकार श्यामनाथ कुँवर, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार त्रिभुवन पौडेल र जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार गिता रानामगरलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले यी पुरस्कार प्रदान गर्दै आएको छ । महासंघ कास्कीको शुक्रबार बसेको बैठकले ३ छुट्टा छुट्टै प्रतिभा छनोट समितिबाट भएका सिफारिसलाई अनुमोदन गरेको हो ।

प्रत्येक वर्ष प्रदान गरिने पोखरा पत्रकारिता सम्मानको राशि ३५ हजार रुपैयाँ छ । यस पुरस्कारबाट यसअघि पत्रकार नारायण कार्की, कुसुमकेशव पराजुली, बद्रीविनोद प्रतीक, माधव शर्मा, पुण्य पौडेल, कृष्ण बाँस्तोला, दुर्गा बराल ‘वात्स्यायन’ र पोखरा महानगरपालिका सम्मानित भइसकेका छन् । 


सम्मानित हुने श्यामनाथ कुँवर समाधान दैनिकमा कार्यरत रहनुभएकाे छ । पत्रकार कुसुमकेशव पराजुली संयोजकत्वकाे प्रतिभा छनोट समितिले कुँवरको नाम सिफारिस गरेको थियो ।

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । पुरस्कृत हुने पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक हुनुहुन्पछ ।

पत्रकार बद्रीविनोद प्रतीक संयोजक रहेको प्रतिभा छनोट समितिले पाैडेलको नाम सिफारिस गरेको हो ।

जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ छ । पुरस्कृत हुने पत्रकार गिता रानामगर एबीसी टेलिभिजनमा कार्यरत रहनुभएकाे छ ।

महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठिन प्रतिभा छनोट समितिले गिताको नाम सिफारिस गरेको थियो ।

३ वटै पुरस्कार पत्रकार महासंघ कास्कीको स्थापना दिवसका दिन असार १२ गते सम्मान र पुरस्कार प्रदान गरिने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।

Facebook Comments