निलम्बित सांसद नेल प्रकरणमा प्रधानमन्त्रीको चासो, खोल्न निर्देशन

राष्टिय जनता पार्टीका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । डिल्लीबजार कारागारमा कैदमा रहेका बेला विरामी भएपछि उपचारका लागि चौधरीलाई बीरअस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिनुभएको हो ।

अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएको तस्बिर सार्वजनिक भएपछि प्रधानमन्त्रीले नेल खोल्न र नेल लगाउन निर्देशन दिनेलाई कार्वाही गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले अस्पतालमा हुँदा नेल लगाउनु अमानवीय र मानवअधिकारविरोधी भएको बताउनुभएको सचिवालयले उल्लेख गरेको छ ।

ढाड र फोक्सोमा समस्या देखिएपछि चौधरीलाई बिहीबार उपचारका लागि बीर अस्पतालमा भर्ना गरिएको थियो । चौधरीको खुट्टामा मोटो नेल लगाइएको थियो । चौधरीलाई १० दिनजति अस्पतालमा नै राखेर उपचार गराउनुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ । ढाडको बोनम्यारोमा समस्या भएपछि हिँडडुलमा समेत समस्या भएको परिवारका सदस्यले जनाएका छन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको संविधान निर्माणको सन्दर्भमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

भूमिगत अवस्थामै चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वा्चित भएका थिए ।

Facebook Comments