सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा पार्टीको राजनीतिक दस्तावेजका साथै सांगठनिक एकीकरणको बाँकी कामका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणअघि यसबारे लामो छलफल भएपनि मापदण्डबारे सहमति हुन नसकेपछि आजको सचिवालय बैठकमा छलफल हुन लागेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालवीच नेताहरुलाई दोहोरो जिम्मेबारी दिने वा नदिने भन्नेमा विवाद छ ।

मन्त्री तथा सांसदलाई पनि जिल्ला इञ्चार्ज बनाउने पक्षमा प्रधानमन्त्री ओली रहेपनि बरिष्ठ नेता नेपाल त्यसको विपक्षमा देखिनुभएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)वीच सचिवालय बैठकका एजेण्डा तय गर्न यसअघि शुक्रबार छलफल भएको थियो ।
सो बैठकमा पार्टीको राजनीतिक दस्तावेज टुंगो लगाएर प्रकाशन गर्ने बारे सचिवालयमा छलफल गर्न नेताहरु सहमत भएको बताइएको छ ।

Facebook Comments