पोखरा महानगरपालिकाको आ.व. ०७६/७७ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत(पूर्ण पाठ)

पोखरा महानगरपालिकाको पाँचौ नगरसभा शुरु भएको छ । नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आगामि आर्थिक बर्ष ०७६७७ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणका साथै पोखराको पर्यटन, कृषि, वातावरण लगायतका क्षेत्रमा जोड दिइएको छ ।

पोखरा महानगरको नीति तथा कार्यक्रमः स्मार्ट पूर्वाधार, समृद्ध सहर

महानगरले स्मार्ट पूर्वाधार, समृद्ध सहरको नीति लिने भएको छ । जसका लागि महानगरको सुविधासम्पन्न कार्यालय र विभिन्न ९ वटा वडाको वडा कार्यालय निर्माण कार्य आगामि आर्थिक बर्षमा गरिसक्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै पोखरा महानगरपालिकाले सडकमा पार्किङ र जाम घटाउन आकासे पुल र बहुतले पार्किङको व्यवस्था गर्ने भएको छ ।

महानगरले आइतबार आगामी आर्थिक वर्ष ०७६७७को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पार्किङ व्यवस्थापन प्रभावकारी बनाउने बताएको हो ।

सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सिर्जनाचोकमा यसै वर्ष आकाशे पुल निर्माण गर्ने योजना महानगरको छ ।

ओभरहेड र सबवे संरचना निर्माण अगाडि बढाउने र सहरी क्षेत्रका मुख्य बजारमा बहुतला पार्किङ निर्माण गर्न पहल गर्ने नीति महानगरले लिएको छ ।

एक सहकारी एक उत्पादन, हाम्रो महानगर, हाम्रो कर, समृद्ध बनाउने हाम्रै रहर, हाम्रो इच्छा समतामूलक शिक्षा लगायतका नारा नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरभित्रका सडक २ बर्षभित्रमा नमुना बनाउन महागरपालिकाले मेयर नमुना पूर्वाधार योजना कार्यक्रम घोषणा गरेको छ । त्यस्तै लामे आहालमा प्रदेश सरकारसँगको सहकार्यमा आधुनिक बसपार्क बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पोखरा महानगरपालिका ३३ स्थित तल्लोपुँडीमा औद्योगिक क्षेत्र स्थापना गर्ने महानगरको योजना छ । महानगरपालिकाका कर्मचारीलाई वर्षमा एक पटक खर्च सुविधा सहितको अनिवार्य भ्रमण बिदा दिने पनि महानगरपालिकाले जनाएको छ ।

तालैतालको नगरीका रुपमा चर्चित पोखरा महानगरले ९ वटै तालको वरिपरी पैदल मार्ग समेत निर्माण गर्ने नीति तय गरेको छ । सबै तालको अतिक्रमण रोक्ने आवश्यक सौन्दर्यीकरण सहित पैदलमार्ग बनाउने महानगरको योजना छ ।

एकीकृत जग्गा विकास योजना तयार पारी स्विकृति नलिएसम्म कित्ताकाट र नक्सापास तथा अन्य भौतिक संरचनाको निर्माणको सिफारिस तथा स्विकृति रोक्का राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले कृषि क्लब गठन गरी ‘एक हप्ता एक दिन खेतबारीमा केही छिन’ अभियान मार्फत श्रमको वातावरण तयार गर्ने बताएको छ । त्यस्तै व्यवस्थित एवं आधुनिक पशु बधशाला, एकीकृत फोहोर व्यवस्थापन लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छ ।

‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने महानगरले कार्यक्रम ल्याएको छ ।

Facebook Comments