केन्द्र सरकार संघीयताको मर्म अनुसार चलेनः मुख्यमन्त्री गुरुङ

यसअघि पनि लगातार केन्द्र सरकारको आलोचना गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि त्यस्तै आलोचना दोहोर्याउनुभएको छ ।

आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकार संघीयताको मर्म अनुरुप नचलेको मुख्यमन्त्री गुरुङको आरोप रहेको छ ।

पोखरा महानगरपालिकाको पाँचौ नगरसभालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री गुरुङले केन्द्र सरकारले संघीय संरचना अनुरुप नीति नियम र कानुन बनाउन तत्परता नदेखाएको बताउनुभयो ।

पछिल्लो राज्य संरचना अनुसार विकेन्द्रीकरणलाई जोड दिनुपर्ने भएपनि केन्द्रीकृत मानसिकता हट्न नसकेको उहाँके भनाई छ ।

केन्द्र सरकारले प्रदेश सरकारसँग कुनै समन्वय नगरी एकलौटी रुपमा ऐन तथा कानुन बनाइरहेको गुरुङको भनाई छ । प्रदेश तथा स्थानीय तहले आफ्ना ऐन तथा कार्यान्वयन गर्न पनि केन्द्र सरकारको मुख ताक्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

प्रदेश तथा स्थानीय तहले कर्मचारी व्यवस्थापन गर्न नसक्नुमा केन्द्र सरकारनै दोषी रहेको मुख्यमन्त्री गुरुङले उल्लेख गर्नुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न समेत संघीय सरकारले आनाकानी गरेको मुख्यमन्त्री गुरुङले खुलासा गर्नुभयो ।

Facebook Comments